तराईमा तस्करको सञ्जाल छैन, फेला परे तुरुन्तै काट्छौँ : महानिरीक्षक अर्याल


काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन् । उनले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताए ।
उनले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताए । उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सिमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए ।
उनले भने ‘बोर्डर आउटपोष्ट स्टार्टटेजिक पोइन्टमा हुनुपर्छ । त्यसको लागि जग्गा प्राप्ति गर्नलाई र भवन बनाउनलाई नेपाल सरकारले एउटा नीति बनाएर, एउटा राष्ट्रिय गौरवको योजना नै बनाएर जान सकियो भने सजिलो हुन्छ । बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति अलि कम भएको छ । टाइट भएको छ अहिले त्यसैले नभएको जाति भन्ने परेको छ । त्यसको लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ । सुरक्षा पनि दिनुपर्नेछ । अहिले तराईमा तस्करको सञ्जाल छैन । व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला । तस्करी गर्ला । सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ । फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ । त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’
उनले कानुन व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरू कानुनी कारबाहीको दायरामा पर्ने गरेका बताए । उनले आफूहरूले व्यवहार हेरेर भन्दापनि कानुन हेरेर अगाडी बढ्नुपर्ने भन्दै व्यवहारिक कानुन नहुँदा समस्या पर्ने गरेको बताए ।
