‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री दाहाललाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धेरै मेहनत गरेर नेपाल संवत, विक्रम संवत, ईस्वी संवतलाई पनि सहजै रुपान्तरण गर्न सकिने र अनन्तकालसम्म प्रयोगमा ल्याउन सकिने काम भएको बताए । उनले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे ।

उनले भने– ‘मैले पहिलो पटक नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्ने निर्णय गराउने मन्त्रीपरिषद्को नेतृत्व पनि मैले गरेको थिएँ । अहिले फेरि नेपाल संवतलाई सरकारी कामकाजी दस्ताबेजहरुमा लेखेर लैजाने भन्ने निर्णय पनि तपाईंहरुकै प्रेरणाले गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र स्थापना पछि एउटा सकारात्मक वातावरण बनेको छ । अब कम्प्लेक्स ठानिएको रुपान्तरणको कुरालाई पनि तपाईहरुले सरल बनाएर ल्याउनुभयो । मैले त आफैँले निर्णय गरेको हुनाले यसलाई अझ व्यवस्थित बनाइ राम्रोसँग लागू गरेर जाओस् भन्ने नै हो । अब यो तोप लगाएर मुख्यसचिवलाई दिन्छु र यो कार्यान्वयनमा जान्छ ।’

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत, विक्रम संवत र इस्वी संवत प्रयोग गर्न सकिने बताइएको छ ।

यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *