काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी

काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ ।
यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
तराई-मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।
काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी
जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।
प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिए । काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए । उनले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको जिकिर गरे ।
उनले भने, ‘होली पर्व आम नेपालीहरूको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरूमा हामीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौँ । राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउनको लागि सुरक्षा प्रबन्ध मिलाएका छौँ । विगतमा भएका जोखिमहरूको मूल्याङ्कन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरू भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरू बनाएका छौँ । त्यही अनुसारको प्रहरी परिचालन गरेका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको सङ्ख्या अत्यधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रूपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा विभिन्न ठाउँहरूमा चोकहरूमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ । अहिले भइरहेका कन्ट्रोल रुम भेहिकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरू अरू रिजर्भहरू सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ । भिडभाड हुने कुरालाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौँ ।’

उनले होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए । उनले होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।
वरिष्ठ उपरीक्षक खत्रीले भने, ‘होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र आपराधिक घटनाहरूलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्दछु । कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्दछु ।’








