बागमती प्रदेशमा ‘एचपीभी’ खोपको दोस्रो मात्रा दिन सुरु

काठमाडौँ । सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको छ ।

आजबाट सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको हो । जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइएको छ ।

एचपीभीका जीवाणुका २ सय बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ ।

दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी, कर्णाली र मधेस गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो । चैत्र ८ गते आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदैछ ।

एचपिभी खोप ६ वटा सङ्घीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट यो खोप दिन सुरु गरिएको हो । ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई लगाइने एचपीभी खोपको पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत्र ७ देखि खोप दिइनेछ । भेरी अस्पतालमा चैत्र ६, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा चैत्र ८ र डडेलधुरा अस्पतालमा चैत्र १५ बाट एचपीभीको दोस्रो मात्रा दिइनेछ ।

गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरूलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ बिरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *