काभ्रेमा अधिकांश एम्बुलेन्स मापदण्डविपरित सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एम्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन् ।

जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको हो । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान भएको हुनुपर्ने, तालिमप्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) रहनुपर्ने व्यवस्था उल्लेख गरेको छ । समितिका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा ४४ एम्बुलेन्स सञ्चालनमा छन् ।

जिल्लाका सञ्चालित एम्बुलेन्समध्ये धुलिखेल अस्पतालका तीनमा १८ जना इएमटी रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालीस एम्बुलेन्समा इएमटी नभएको, ३५ वटा एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध नभएको, २८ एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ ।

धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्समा निर्देशिकाअनुसार सुविधा नरहेको बताइन् । उनका अनुसार एम्बुलेन्स सञ्चालनार्थ धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) अन्तर्गत सञ्चालनमा रहेका छैनन् ।

जिल्लामा रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार तथा भाडादरमा एकरूपता ल्याउन तथ्याङ्क सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले बताइन् । उनीका अनुसार विभिन्न सङ्घसंस्था एवं दातृ निकायबाट प्राप्तमध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि प्रशासनिकरूपमा नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् ।

समितिको विवरण अनुसार मण्डनदेउपुर नगरपालिकामा रहेका तीनमध्ये रेडक्रसद्वारा सञ्चालित एक एम्बुलेन्स नचलेको र चौँरीदेउराली गाउँपालिकामा आइपुगेको एम्बुलेन्स सञ्चालनमा ल्याउन प्रक्रिया थालिएको जनाइएको छ ।

बनेपा नगरपालिकामा आठ, धुलिखेलमा चार, पाँचखालमा चार, नमोबुद्धमा तीन र पनौतीमा दुई एम्बुलेन्स सञ्चालनमा ल्याइएको थियो । यस्तै खानीखोला गाउँपालिकामा दुई, महाभारतमा एक, भुम्लुमा तीन, बेथानचोकमा दुई, खानीखोलामा दुई, तेमालमा एक, रोशीमा तीन एम्बुलेन्स सञ्चालनमा थिए ।

गत पुसमा समितिको बैठकले जिपिएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिसँग एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने निर्णय गरेको थियो ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा जिपिएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *