१० रोपनीमा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज : विनोद चौधरी

काठमाडौं । नेपाली कांगे्रसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् । बिहीवार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन् ।
उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए । ‘१० रोपनी जग्गाको बारेमा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि होइन,’ उनले अगाडि भने, ‘मेरो आफ्नो ४५ वर्षको लामो अनुभवको आधारमा, उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष र सीएनआईको पूर्वअध्यक्षको हैसियत र विचारकको हैसियतले मैले अहिलेसम्म विकासको राजनीति गरेँ । दलगत राजनीतिमा सक्रिय भइन, दलहरुका बीचका मतभेदमा सरिक भइन ।’
उनले अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको बताए । ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो,’ सांसद चौधरीले भने, ‘मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।’
- यस्तो थियो उनको भनाई :-
हिजो गोप्य पत्रको नाममा संसद्लाई जानकारी दिँदा म संसदमै थिएँ । संसदमा हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरु रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्नेकुरा स्पष्ट भएको स्थिति छ ।
मैले यो विषयमा कुरा उठ्नेबित्तिकै मेरो भाइमाथिको अनुसन्धान शुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरु राखेँ । जुन पब्लिकली बाहिर आए । म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानून बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरु राखेँ ।
मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ । ४२ वर्षअघिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्नेकुरा सबैले बुझेका छन्, नेपालभर ।
यो देशकै एकमात्र हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रुपले मुलुकभर नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभर नै र हाम्रो विभिन्न परियोजना गर्ने रुपले यो १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज बाहेक केही पनि होइन । मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचार र राजनीतिक कर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरेँ ।
मैले कहिले पनि दलगत राजनीतिको पक्षमा अकारण र गलत प्रवृत्तिलाई कहिले पनि दलहरुका बीचका आपसी मतभेद, जोडघटाउमा सरिक भइन । त्यस हिसावले आफूलाई प्रोफेसन र विकासप्रेमीको हैसियतले फोरममा उभ्याएँ । तर आज यो इस्युमा भने राजनीति गर्ने, राजनीतिकरण गर्ने, उद्यमलाई राजनीति गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने कुरा स्पष्टसँग देखियो । अहिले अत्यन्त कठिन परिस्थिति भएर गुज्रिरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यि कुराहरु रोज आउने गर्दछन् ।
यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरका र विश्वभर रहेका नेपालका युवाहरुले, नेपालका उद्यमीहरुले रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने हो ।
मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरुलाई । म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन ।








