नेसपा माओवादीसँग एकता गर्ने भ्रमपूर्ण प्रचारबाजी गरियो : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूहरुको पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने भनि भ्रमपूर्ण प्रचारबाजि गरिएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको भनि जालसाझिपूर्ण र भ्रमपूर्ण प्रचारबाजी गरिएको बताएका हुन् ।
उनले भने ‘म पार्टीको अध्यक्ष छु । निर्वाचन आयोगका सबै अभिलेखले त्यो देखाउँछ । फेरी वार्ता समितिको संयोजक म आफैँ हुँ । फेरी हाम्रो पार्टीको केन्द्रीय समितिको अस्ति ५ गते बैठक बस्यौँ, ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समिति उपस्थित भएर हामीले निर्णय पनि गरेका छौँ । यस्तो अवस्थामा त्यस्तो प्रकारको जालसाझिपूर्ण, भ्रमपूर्ण प्रचारबाजि गरियो ।’
उनले पार्टीका केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा पार्टीका केही मान्छेहरु माओवादी केन्द्रमा प्रवेश गरेर पार्टी एकता भयो भन्नुले आफूहरु आश्चर्यचकित भएको बताए ।
भने ‘देशको प्रधानमन्त्री जो एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, उहाँकै उपस्थितिमा केही मान्छेहरुले उहाँको पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने ढंगको जुन वक्तव्य आयो । त्यसबाट हामी आश्चर्यचकित भयौँ ।’
उनले आफ्नो पक्षमा केन्द्रिय समितिको ७० प्रतिशत र केन्द्रिय कार्यकारिणी समितिको दुई तिहाई संख्या रहेको र निर्वाचन आयोगमा पनि आफैँ अध्यक्ष भएको अभिलेख रहेको बताए । संयोजक भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहेपनि उनीहरुसँग मिस्सिने कुनै मनशाय नरहेको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र छ । यसमाथि भइरहेका जुन प्रहारहरु छन् । यसलाई रक्षा गर्ने कुराहरुमा हामीले पुराना शक्तिहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर अब उहाँहरुबाट मात्रै त्यसको रक्षा हुँदैन । अगाडी बढेर मात्रै रक्षा हुन्छ भनेर हिडिसकेको हुनाले हाम्रो उहाँहरुसँग मिस्सिने कुनै मनशाय पनि होइन ।’
उनले नेपाल समाजवादी पार्टी आफ्नो सिंगो अभियानलाई छोडेर माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट पारे ।
उनले भने ‘यो विषयमा हाम्रो आम जनसमुदायमा कुनै भ्रम नरहोस् । र अब हामी प्रष्ट ढंगले वैकल्पिक शक्ति, नयाँ लोकतन्त्रमा आधारिक समाजवादको धारको पक्षपोषण गर्दै हामी अगाडी बढेका छौँ । त्यही बाटोमा हामी दृढ छौँ । हामी पछाडी फर्किने कुरा हुँदैन ।’
संयोजक भट्टराईले अहिलेको तरिकाले भ्रष्टाचारको अन्त्य नहुने बताए । उनले कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा काँग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको बताए । उनले आपसमा मिल्दाखेरी सबै साफ हुने प्रवृत्ति पनि रहेको भन्दै यसरी भ्रष्टाचारको अन्त्य नहुने स्पष्ट पारे । उनले सबै उच्च पदस्थको छानविन र कारबाहीसम्म गर्न सक्नेगरी शक्तिशाली जनलोकपाल गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने बताए ।
उनले भने ‘भ्रष्टाचारको अहिले जुन प्रकरणहरु भइरहेका छन् । यसरी अंश, अंशमा यो हल हुँदैन । काँग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने । कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने अनि आफू चोचो मिलाएर फेरि सबै साफ हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन । त्यसको निम्ति अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि, हामी पूर्वप्रधानमन्त्रीदेखि लिएर सबैको सम्पत्ति र गतिविधिको छानविन गर्न सक्ने र आवश्यक पर्दाखेरी सबैलाई कारबाही गर्नसक्ने यस्तो शक्ति सम्पन्न जनलोकपाल हुनुपर्छ भन्ने हाम्रो भनाई हो । त्यसले मात्रै भ्रष्टाचार निवारण हुन्छ । नत्र आफू सत्तामा भएको बेलामा अर्कालाई आरोपित गर्ने, अनि आफ्नो ढाकछोप गर्ने जुन प्रवृत्ति छ, यसले भ्रष्टाचार झन मौलाउँछ ।’
उनले पुराना पार्टीहरुसँग चुनावी तालमेल गरेका कारण जनतामा भ्रम परेको भन्दै अब पार्टीलाई पुरानो पार्टीहरुको संसर्गबाट टाढा राख्ने बताए ।








