बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण

अर्घाखाँची । पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।

पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ ।

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भने, ‘वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्यजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।’

किसानहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो । वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरू समेतले धादिङ भोटे कुकुर क्लब अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो ।

सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । चालिसदेखि ६० दिनसम्मका कुकुरहरूको खरिद मूल्य प्रतिकुकुर ३५ हजार छ ।

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरूको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त न्यौपानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *