अर्थमन्त्रीलाई सांसद ज्वालाको अनुरोध- ‘बजेट निर्माणमा सांसदहरूको भरोसा गर्नुस्’

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।
‘अर्थमन्त्रीसँग मेरो विशेष अनुरोध छ–बजेट निर्माणमा सांसदहरूलाई भरोसा गर्नुहोस् ।’ उनले भने ।
सांसद ज्वालाले विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने ‘सबै भन्दा नजिकका विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति भनेका सांसदहरू हुन । सांसदहरूलाई विश्वास गरेर यो बजेट निर्माण प्रक्रिया अलि बढी ध्यान दिनुहुनेछ । र योजना निर्माणमा पनि सांसदहरूलाई सुझावलाई सम्बोधन गर्नुहुनेछ भन्ने म सुझाव दिन चाहन्छु ।’
बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमापनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिनेगरी बजेट ल्याउने अपेक्षा समेत गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको पनि बताए ।
उनले भने ‘अव यस पटक बजेटले परम्परा तोड्ने छ । र, बजेटमा नयाँ ब्रेक थ्रू हुनेछ भन्ने कुरामा पनि विश्वास राख्न चाहन्छु ।’
सांसद ज्वालाले बजेट पारदर्शी ढंगले ल्याउन पनि सरकारलाई सचेत गराए ।








