मधेस प्रदेशबाट बाहिरियो कांग्रेस, एमालेका सरोज यादव बने मन्त्री

मधेस प्रदेश सरकारमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सरोज यादव आज मन्त्री नियुक्त भएका छन्।

यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन्।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा बाहिरिएको छ। नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा कांग्रेस सरकारमै थियो।

कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। एमालेमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढेपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ।

मुख्यमन्त्री यादवले केन्द्रीय सत्ता गठबन्धनमा भएको फेरबदल अनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमाले संसदीय दलका नेता यादवलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराएको र बाँकी मन्त्री भने सहमतिपछि नियुक्त गरिने मुख्यमन्त्री यादवले बताए।

एमालेले कति र कुन मन्त्रालय लिने विषयमा हालसम्म सहमति नभएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले एमालेसहितका दलको बैठक बसेर छिट्टै निष्कर्ष निकालिने बताए। नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहितको सहमति भइसकेको बताए।

कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह सरकारमा सहभागी भएका छन्। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *