इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार

काठमाडौं । गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गरेका छन् ।
नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गरेका हुन् ।
ईजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुगेका ईजराइली राजदुत हनान गोदरले उहाँको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताए ।
उनले परिवारजनलाई आफूलाई सम्हाल्न आग्रह गरे । आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उनले नेपाली सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिए ।
घटना भएको २७ दिन मात्र अगाडि गत भदौ २५ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समूह कृषिमा स्नातकोतर अध्ययन गर्नका लागि इजरायल पुगेका थिए ।








