गगन थापालाई रास्वपा सांसदको जवाफ– पानी बिनाको माछाझैँ नतड्पिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन् ।
यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखे । त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे ।
उनले भने– ‘सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन म माननीयजीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रुपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न आँट गरौँ । किनकी देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्र्किएका औँलाहरु हेर्न सुझाव दिन चाहन्छु ।’
उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिए ।








