आरती साह मृत्यु प्रकरणः सासू रेणु पनि पक्राउ

धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पनि पक्राउ परेकी छन्।
रेणुलाई आइतबार अपराह्न जनकपुरधाम उपमहानगरपालिका(४ मुरलीचोकबाट पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ।
आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहनविरुद्ध किटानी जाहेरी दिएका थिए।
अहिले सासू रेणुदेवी र देवर रवि साहविरूद्ध पनि पुरक जाहेरी परेपछि पक्राउ गरेको हो।
सुरुमा जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।
त्यसपछि आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। ससुरा धरौटीमा रिहा भएका छन्।
अनुसन्धानका लागि फागुन २४ गते आरतीका देवर रविलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।








