अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन (भिडिओ)

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।
नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको उनले स्वीकारे । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ ।
‘एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब विस्तारै लगानी पनि बढ्छ’, अर्थमन्त्री पुनले भने । बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको उनले बताए ।
‘गत वर्ष सात महिनाका लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति नहुँदा हामी श्रीलङ्का जस्तै हुन्छौँ भनिएको थियो । सो समयमा पनि सरकारले हामी त्यति खराब अवस्थामा छैनौँ भनेर आस्वस्त पारिरहेको थियो’, अर्थमन्त्री पुनले भने । अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा उनले चिन्ता व्यक्त गरे ।
सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाए ।








