नेपाल औषधि लिमिटेडले थप तीन औषधि उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरू औषधि पनि उत्पादन गर्न सक्छौँ’, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।

वि.स २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *