मनी ट्रान्सफर सञ्चालकलाई गोली हान्ने ३ भारतीय सार्वजनिक

काठमाडौं । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनीहरूले शुक्रवार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए ।
शिव मनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बीआर ०६ सीएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए ।
उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्ध स्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ ।








