कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभई नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क समेत गरे । शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली काँग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो ।
संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर नेपाली काँग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए । उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरे ।
मन्त्री पुनले भने ‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन । किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन । र राजनीतिक रूपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ । यदाकदा म माथि पनि भएको छ । गृहमन्त्रीलाई आक्रमण हो, हेर्ने नजर चाहिँ अर्थमन्त्रीलाई हो भनिन्छ । त्यसो गर्नुहुँदैन । यो राजनीतिमा सामान्य परिवर्तन भइरहन्छ । समीकरण परिवर्तन भइराख्छ । जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक नै भुमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ । छिट्टै प्रमुख प्रतिपक्ष दलका नेता साथीहरूले संसदलाई सुचारु गर्ने, विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई सुचारु गर्नलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो अनुरोध छ ।’
मन्त्री पुनले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको भूमिकामा उभ्याउनुपर्ने समेत बताए ।








