‘बजेटका सिद्धान्त र प्राथिमकतामा आशा जगाउने नयाँपन छैन’

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथिमकतामा आशा जगाउने नयाँपन नरहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकताले पुरातन शैलीमा नै बजेट बनाउने सिद्धान्त बोकेको बताए ।
उनले कुनै एउटा मात्रै क्षेत्रमा सरकारले बिग र बोल्ड निर्णय गर्छ भन्ने आधार नरहेको जिकिर गरे । उनले सिद्धान्त र प्राथमिकताले तत्काल भएका सुधार, अर्थतन्त्रका चुनौति र भावी कार्यदिशाका सन्दर्भमा संक्षिप्त केही मात्र तथ्यहरु उल्लेख गरेको बताए ।
उनले सार्वजनिक खर्च नियन्त्रण, उत्पादन वृद्धिमा टेवा, दोहोरो संरचना खारेज गर्ने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, पूर्वतयारी नपुगेको योजनामा बजेट विनियोजन नगर्ने, राजश्व परिचालन, क्षमता वृद्धि गर्ने जस्ता महत्वपूर्ण प्रतिवद्धता पनि सिद्धान्त र प्राथिमकतामा राखिएको बताए ।
मन्त्री फेरिएकै कारणले यि विषयहरु नफेरिने विश्वास आफ्नो रहेको बताए ।
उनले सरकारको खर्चतर्फ सिर्जित दायित्व भुक्तानी तथा श्रोत सुनिश्चित गर्न नसकेको, ठूला आयोजना समयमा बन्न नसकेको, विभिन्न निकायबीचमा दोहोरोपन देखिएको, राजश्व लक्ष्यअनुरुप उठाउन नसकेको जस्ता विषयलाई बजेटका सिद्धान्त र प्राथमिकताले स्वीकार गरेको बताए ।








