सुडानी सेनाद्वारा ओमदुरमानमा राष्ट्रिय रेडियो, टिभी मुख्यालय नियन्त्रण

एजेन्सी । सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तूमको उत्तरपश्चिममा रहेको ओमदुरमान सहरमा रहेको राष्ट्रिय रेडियो र टेलिभिजन मुख्यालयलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
राष्ट्रिय रेडियो र टेलिभिजन कर्पोरेशनको मुख्यालयलाई र्यापिड सपोर्ट फोर्स र अन्य देशका भाडाका सैनिकहरूबाट फिर्ता लिन सफल भएको बताएको हो ।
राष्ट्रिय रेडियो र टेलिभिजन कर्पोरेशनको मुख्यालय, ओमदुरमानको अल–मुलाजमीन छिमेकमा अवस्थित, गत वर्ष अप्रिलको मध्यमा गृहयुद्ध सुरु भएदेखि अर्धसैनिक आरएसएफद्वारा नियन्त्रित थियो ।
यद्यपि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मार्च ८ मा मुस्लिम पवित्र महिना रमजानको समयमा सुडानका युद्धरत पक्षहरू बीचको शत्रुताको तत्काल अन्त्य गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको थियो । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र संघको कार्यालयकाअनुसार सुडानमा द्वन्द्वले हालसम्म १३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।








