प्रचण्डलाई विश्वासको मत दिए कारबाही हुन्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई आग्रह गरेका छन् । विश्वासको मत नदिने निर्णय भएको स्मरण गराउँदै उनले केन्द्रीय समितिको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका हुन् ।

नाउपा संसदीय दलको नेतासमेत रहेकी अध्यक्ष श्रेष्ठले पार्टीका सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् भने रेशम मत दिन नहुने पक्षमा छन् ।

रेशमले सामाजिक सञ्जालमार्फत पत्नीलाई सम्झाउन नसकेको पनि बताए । ‘केन्द्रीय कार्यसमितिको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र भोग्नुपर्छ,’ रेशमले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो भ्रम हो । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ ।’

आफ्ना कारण लाखौँ जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाई छ । ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =