इशारामा फुटबल खेल्छन् सुस्तःश्रवण भएकाहरू

अन्नपूर्ण (कास्की) । सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरू मज्जासँग फुटबल खेल्छन् । उनीहरूका लागि कुनै विशेष मैदान हुँदैनन् । सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन् ।

बहिरा खेलाडीहरू इशाराको भरमा फुटबल खेल्छन् । उनीहरूका लागि सङ्केत नै काफी हुन्छ । बोल्न नसक्ने र कानले पनि नसुन्ने भएकाले उनीहरूका लागि इशारा बेग्लै हुन्छ । निर्णायक भूमिकाका लागि ‘रेफ्री’ पनि मैदानमा तैनाथी हुन्छन् । रेफ्रीको एउटा हातमा रातो र अर्को हातमा हरियो झन्डा हुन्छ ।

खेलाडीले गल्ती गरे रेफ्रीले सिटी बजाउँदैनन्, मात्र रातो झन्डा हल्लाउँछन् । अनि बल चलाउनका लागि हरियो झन्डाले इशारा दिन्छन् । प्रशिक्षकले इशाराले सिकाउँछन् । इशाराकै भरमा खेलाडीले आपसमा बल माग्छन् । गोल हुँदा दर्शकले हुटिङ गर्नुको सट्टा दुवै हातमाथि माथि उठाएर औँला फिजाएर खुसियाली साट्छन् ।

‘बुझ्नेलाई इशारा काफी छ’ भनेझैँ उनीहरूका लागि भाषाको सञ्चार हातको हाउभाउ हो । बागमती बहिरा महिला फुटबल टोलीकी कप्तान कोपिला गुरुङले आफूहरु यसरी नै फुटबल खेल्ने गरेको बताउछिन् ।

कोपिला गत शुक्रवार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ का दिन बहिरा फुटबल खेल क्लब पोखराले आयोजना गरेका बहिरा महिला फुटबल प्रतियोगिता खेल्न पोखरा आएका थिए । उनको टोली पोखरामा प्रथम भएको थियो ।

नक्साल बहिरा माविमा अध्ययनरत कोपिला बोल्न र सुन्न नसके पनि इशाराको भरमा सामान्य मानिसले जस्तै गरी फुटबल खेल्न सक्ने बताउछिन् । ‘हामी बोल्न र सुन्न नसके पनि सङ्केतको भरमा फुटबल खेल्न सक्छौँ, कुरा यति हो कि हाम्रा लागि पनि सरकारले केही सोचिदिनुपर्छ’, दोभासेमार्फत कप्तान कोपिलाले भनिन्, ‘मेरो लक्ष्य भनेको हाम्रो क्षेत्रबाट नेपाल राम्रो खेलेर विदेश गएर खेल्ने रहर छ ।’

पोखरामा फुटबल खेल्न आउनुभएकी कञ्चनपुरकी बहिरा महिला फुटबल खेलाडी शर्मिला चौधरीको पनि चर्चित फुटबल खेलाडी बन्ने लक्ष्य रहेको छ । उनी सुदूरपश्चिम महिला बहिरा फुटबल टोलीको कप्तान हुन् ।

दक्षिणकाली बहिरा आवासीय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कप्तान शर्मिलाले बहिरा खेलाडीले उचित अवसर र तालिम पाए अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने बताइन् । दोभासेमार्फत शर्मिलाले भनिन्, ‘हामीहरूका लागि उचित अवसरसँगै तालिम हुने हो भने हामी पनि अरू जस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्छौँ ।’

रेफ्री कवीरमान गुरुङले अन्य प्रतियोगिता खेलाउँदाभन्दा केही फरक अनुभूति भएको बताए । बहिरा खेलाडीलाई खेलाउँदा सिटी फुक्नुको सट्टा झन्डा हल्लाउनुपर्नेबाहेक सबै नियम समान भएको उनले बताए । ‘अरू खेलभन्दा बहिरा खेलाडीलाई खेलाउँदा केही फरक छ हुने नै भयो तर उनीहरू मज्जासँग खेल्न सक्नुहुन्छ’, रेफ्री कवीरमानले भने, ‘उनको खेल हेर्दा राम्रो प्रशिक्षण पाउने हो भने सुन्ने व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।’

बहिरा खेलाडीहरू पनि खेल्नका लागि सक्षम छ भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने दाभासेमार्फत बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले बताए । बहिराहरूको पहिलो भाषा साङ्केतिक भाषा भएकाले राज्यले दोभासे उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

क्लबले यसभन्दा अघि बहिरा पुरुषको बीचमा प्रतियोगिता गर्दै आएको बताउँदै क्लबका सहसचिव बरालले यस वर्षदेखि महिलाका लागि पनि अवसर दिइएको बताए । उनले बहिरा महिलाले पनि राम्रोसँग खेलेकाले आगामी वर्ष पनि बहिरा महिला फुटबलको आयोजना गर्ने प्रतिबद्धता जनाए ।

कोशी, बागमती, सुदूरश्चिम र गण्डकी प्रदेशका दुई गरी पाँच टोलीको सहभागिता रहेको बहिरा महिला फुटबल प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको थियो । पोखरा रङ्गशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ‘टाइब्रेकर’मा २–० गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइब्रेकरबाट लागेको थियो ।

उपाधि जितेको बागमतीले ट्रफीसहित ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता भएको सुदूरपश्चिमले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *