चैत १ देखि ४ गतेसम्म काठमाडौँमा २५ औं फ्लोरा एक्स्पो हुँदै

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ ।
एसोसिएसनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो ।
स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय भन्ने नारासहित हुन लागेको आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक सीताराम पन्तले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचारप्रसार गर्न सघाउ पुर्याउने मुख्य उद्देश्य रहेको बताए ।
उनले पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेहरूलाई मेला वृहत् साझा मञ्च हुने विश्वास लिएको बताए ।
उनले मेलामा ६० स्टल, ल्याण्डस्केपिङ स्टल ३ अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र १ वटा फुड स्टलसहित ७३ वटा स्टल रहने बताए । उनले मेलाको अवधिभर ५० हजार मानिसहरूले अवलोकन गर्ने अपेक्षा राखेको बताए ।
आर्थिक वर्ष २०७९÷०८० मा नेपालमा ३ अर्ब ७ करोड भन्दा बढी कारोबार भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा करिब ३३.६३ प्रतिशत वार्षिक कारोबारमा वृद्धि भएको एसोसिएसनले बताएको छ । आर्थिक वर्ष २०७९÷०८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात ३३.०६४ करोड बराबरको कारोबार भएको बताएको छ ।








