साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको छ ।

अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजीबजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजार सकारात्मक बनेको छ । पछिल्ला तीन कारोबारमा नेप्से परिसूचक निरन्तर रुपमा उकालो लागेको छ । आइतबार नेप्से परिसूचक २२.१० अर्थात १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से परिसूचक बढेसँगै विन लघुवित्त र जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७।९४ प्रतिशतले बढेको छ । तर यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६।९५ प्रतिशतले घटेको छ । आइतबार शिवं सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *