सरकारले कानुनमा रहेका समस्याहरूलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्ने : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानुनमा रहेका समस्याहरूलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोसाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेका कानुनहरूमा रहेका त्रुटिहरू, कानुनमा रहेका समस्याहरूलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताए । उनले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानुनहरूमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताए ।

उनले निजी क्षेत्र उत्साहित नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए । उनले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताए ।

उनले भने ‘मूलतः नीतिका प्रश्नमा जे खालका समस्या छन्, समयानुकूल, हिजोको भन्दा परिष्कृत र परिवर्तित हिजो एउटा परिवेश थियो, आज अर्को छ । हामी नयाँ परिवेशमा कतिपय कानुनहरू अहिलेको गतिमा त्यो उपयुक्त नहुन सक्छ । अहिले पनि सरकारले नयाँ लगानी सम्मेलनको तयारी, त्यसका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेछ । अहिलेका हाम्रा कानुनहरूमा रहेका त्रुटिहरू, कानुनमा रहेका समस्याहरूलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नुपर्नेछ । हामी भन्छौँ, लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानीमैत्री वातावरणको पहिलो आधार अहिले हामीले हाम्रा विद्यमान कानुनहरूमा हामीले सुधार ल्याउनुपर्नेछ । संशोधन ल्याउनुपर्नेछ । ताकी लगानी गर्ने उपयुक्त वातावरण बन्न सकोस् । त्यसमा पहिलो कुरा त निजी क्षेत्र जबसम्म उत्साहित हुँदैन, जबसम्म निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकिँदैन, यो सरकार मेरो हो, यहाँ मैले मेरो लगानी ढुक्कले गर्न पाउँछु, त्यसको प्रतिफल पाइन्छ, राज्यका सहुलियतका लागि राज्य तत्पर र तयार छ, त्यो खालको अझै वातावरण बन्न नसकेको स्थिति छ । त्यो वातावरण निर्माण गर्न अहिलेको सरकार तयार छ ।’

मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरू कायम रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =