उत्पादनले बजार नपाउँदा बागलुङका महिला उद्यमी मर्कामा

ढोरपाटन (बागलुङ)। बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरूले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बनेका छन् ।
उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उहाँहरू कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन् । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरूको गुनासो छ ।
तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन् । प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् ।
आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन् ।
उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताइन् । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बत्ताउँछिन् ।
उद्योगमा एक जनाले महिनाको ३५÷४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उनले गुनासो गरिन् ।
‘फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरू बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ’ उनले भनिन् ‘सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरू आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।’
समूहमा काम गर्दै आएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताइन् । आफूहरू बिस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उनको भनाइ छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोत्साहन गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उनले बताइन् । सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनी बत्ताउँछिन् ।
उनले भनिन् ‘गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताए । समयसमयमा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै आएको भन्दै उनीले गाउँदेखि सहरसम्म आयातित सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताए । उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनले बताए ।
‘पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरूलाई हामीले प्राथमिकताका साथ सहयोग गर्दै आएका छौँ यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौँ, हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ’ उनले भने ।








