‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

बाँके । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको ९ महिनाकी छोरी छिन् । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन् ।

दैलेखको भगवतीमाई गाउँपालिका-३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो। उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन । अहिले उनी ‘ड्युटी’मा निर्धक्कसँग जान्छिन् । गणभित्रै शिशु हेरचाह गर्ने स्याहार गृह स्थापना भएपछि काम गर्न सुकुमालाई थप हौसला आएको छ ।

‘एउटा आमालाई चिन्ता भनेकै सन्तानको लाग्छ, एकछिन आफ्नो शिशु नहेर्दा मन बेचेन हुन्छ, सुरुसुरुमा ड्युटीमा जाँदा नानीको खुबै चिन्ता लाग्थ्यो, अहिले ढुक्क छु’, उनले भनिन्, ‘अहिले गणभित्रै ड्युटी गर्नुपर्ने भएकाले नानीलाई हेर्दै काम गर्न पनि सहज भएको छ, छिनछिनमै नानीलाई खेलाउन आउँछु ।’

उनी आफूमात्र होइन, अहिले अरू महिलाका शिशुको स्याहार गर्ने काम गर्छिन् । ‘आफ्नोसँगै अरूका शिशु पनि हेर्ने काम गर्छौं, पालैपालो ड्युटीमा खटिएका छौँ, पहिला धेरै आमाले ड्युटी गर्दै शिशु हेर्नुपर्थ्यो, आमाहरु ड्युटीमा खटिँदा शिशु माटोमा खेल्थे, रोग लाग्छ कि भन्ने पीरले सताउँथ्यो’, उनले भनिन्, ‘गणभित्रै शिुशु स्याहार गृह बनेपछि धेरै आमालाई सहज भएको छ, हामी आफ्ना मात्र होइन, आफ्ना बच्चासँगै अरूका बच्चालाई खेलाउने काम गर्छौं ।’

बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वार्टर वागिश्वरीमा शिशु स्याहार गृह स्थापना भएसँगै अहिले धेरै आमालाई ड्युटी गर्दै आफूसँग आफ्ना शिशु हुर्काउन सहज भएको छ । दैलेखको भगवतीमाई-६ बेस्तडा गाउँकी २३ वर्षीया सरिता खड्काले जागिर खाएको पाँच वर्ष भयो। उनको १० महिनाका छोरा छन् । उनलाई ड्युटी जाँदा पनि बच्चाको चिन्ता लाग्दैन। उनी अहिले ढुक्कसँग ड्युटी गर्छिन् ।

‘बच्चा हुर्काउँदै काम गर्न पाउनु धेरै ठूलो कुरा हो, यो त महिलाका लागि वरदानै हो, कति मान्छेले बच्चाका लागि समय नहुँदा जागिर छाड्नुपर्छ, कति अवसर गुमाउनुपर्छ’, उनले भनिन्, ‘ड्युटी गर्दै बच्चा हेर्नु निकै समस्या हुन्छ, बच्चा हुर्काउनु सानो कुरा होइन्, भनेको बेला खुवाउनुपर्यो, सुताउनु पर्यो, अहिले त्यो झन्झट अब छैन ।’

ड्युटीमा खटिएका आमाका शिशुलाई हेरचाह गर्ने प्रमुख जिम्मेवारी २४ वर्षीया रेश्मा खड्काको हो । उनका अनुसार बच्चा भएकै कारण कुनै महिलालाई काम गर्न अप्ठ्यारो नहोस् भनेर शिशु स्याहार गृह स्थापना गरिएको हो । रेश्मासँगै शिशुका आमा पालैपालो शिशु स्याहार गृहमा आएर उनलाई सघाउँछन् ।

पेसाले सशस्त्र प्रहरी महिला कर्मचारी उनको ड्युटी भनेकै शिशुलाई रेखदेख गर्ने हो । कोठाभरि राखिएका खेलौना र भित्ताभरि कोरिएका नम्बरबाट उहाँ बच्चा भुलाउँछिन् । उनले जागिरे जीवन सुरु गरेको तीन वर्ष भयो । नेपालगन्ज उपमहानगरपालिका-१४ मा पर्ने बालेगाउँमा रहेको उक्त गणमा दिनभरि उनी बच्चाहरुसँगै रमाउँछिन् । बिहान ८ देखि साँझ ६ बजेसम्म सशस्त्र प्रहरी आमा बच्चालाई खेलाइरहन्छिन् ।

शिशु स्याहार केन्द्रमा ३२ शिशु छन् । एक वर्षमुनिका १५ र एक वर्षमाथिका नौ छन्। कक्षा १२ पास गरेर मन्टेश्वरी तालिम लिएको हुनाले उनले शिशु स्याहार्ने जिम्मा पाएकी हुन् । शिशु स्याहार केन्द्रमा ‘र्‍याम’ सिकाउने, चित्र चिनाउने कौशल, शिशुलाई भुलाउने सीप उनीसँग छ । शिशुहरुको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भए पनि एकै उमेरका शिशु धेरै भएकाले उनलाई अरू तीन सहकर्मीले सघाउँछन् ।

ड्युटीमा खटिँदा आमा कर्मचारीलाई निकै समस्या हुन्छ। त्यही समस्यालाई दृष्टिगत गरेर गणभित्रै आफ्नो शिशु खेलाउँदै हेर्दै ड्युटी गर्न सहज होस् भनेर शिशु स्याहार केन्द्र सञ्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । आमा बनेका प्रत्येक महिला कर्मचारीलाई बच्चाको उमेर २ वर्षको नहुँदासम्म गण बाहिर ड्युटीमा नपठाइने गरिएको छ । उक्त गणमा ४५ महिला प्रहरी कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =