पशुपतिमा महाशिवरात्रिको रौनक (तस्बिरहरू)

काठमाडौं । आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख । महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।

शिवको अर्थ हुन्छ- कल्याण । भगवान् शिवले सबैलाई कल्याण गर्नुहुन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

बिहीबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *