केपी ओली रोड रेसको उपाधि दिनेश र राममायालाई

झापा । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फ राममाया बुढाले जितेका छन् । ५१ औं सुखानी शहीद दिवस पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको संगमस्थल सुखानी सहिद पार्कसम्मको १० किलोमिटर दुरीको दौडमा यादव र बुढाले उपाधि जितेका हुन् ।

दुवै विजेताले जनही ५१ हजार हजार रुपैयाँ नगद , मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलिसेकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै विजेता बने भने महिलातर्फकी विजेता बुढाले ५९ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् ।

यसैगरी पुरुषतर्फ सन्दीप बस्नेत द्वितीय बनेका छन् । उनी ५३ मिनेट ४ सेकेण्ड ८ मिलिसेकेण्डमा तोकिएको दुरी पार गर्न सफल भए । महिलातर्फ पुष्पा भण्डारीले १ घण्टा ३ मिनेट ९ सेकेण्डमा दुरी पार गरेर द्वितीय स्थान हासिल गरिन् । दुवै जनाले जनही ३१ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी पवन कार्कीले ५४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै पुरुषतर्फको तृतीय स्थान हासिल गर्दा महिलातर्फ फूलमती रानाले १ घण्टा ३ मिनेट ४ सेकेण्डमा सो दुरी पार गर्दै तृतीय भइन् । दुवै जनाले जनही नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दुवैतर्फका उत्कृष्ट १० धावकलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मूल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिए । प्रतियोगितामा देशभरबाट ४ सय ४८ जना सहभागी भएका थिए ।

नेपाल खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथि थिए । सुखानी दिवसका अवसरमा पाँच जना शहीदहरूले शहादत प्राप्त गरेको ऐतिहासिक ठाउँ सुखानी पार्कमा प्रतियोगिता समापन गरिएको महासंघ प्रदेश अध्यक्ष थापाले जानकारी दिए । सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पार्टीका सचिव योगेश भट्टराई, पार्टी स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्णबहादुर थापा, केन्द्रीय कमिटीका सदस्य गीता अधिकारी, पार्टी प्रदेश कमिटीका सदस्यहरू एकराज कार्की, होम थापा, योगेश बस्नेतको सहभागिता थियो ।

यसैगरी  पार्टी इलाम जिल्लाका अध्यक्ष महेश बस्नेत, पार्टी झापाका संयोजक प्रेम गिरि, महासंघका केन्द्रीय सचिवद्वय, विप्लव घोस, सन्तोष बान्तवा स्थायी कमिटी सदस्यहरू, सचिवालय सदस्यहरू, इलाम र झापाका पालिका प्रमुखहरू वडा अध्यक्ष, जनप्रतिनिधिहरू, महासंघका प्रदेश, जिल्ला, पालिका पदाधिकारी सदस्यहरू पनि सहभागी रहेका महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *