राष्ट्रिय सभा सदस्यहरूको प्रतिबद्धता- ‘कानुन निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने’

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले कानुन निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरूको भुमिका हुने बताएका छन् ।
सोमवार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरूले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरूको भुमिका हुने बताएका हुन् । उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरूको भुमिका हुने बताएका छन् ।
राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानुनहरू नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढी केन्द्रित हुने बताए ।
उनले भने ‘संविधानको पूर्ण रूपले कार्यान्वयन गर्नुपर्छ । त्यसमा आवश्यक कानुन निर्माण गर्ने कुरामा राष्ट्रिय सभाले भुमिका खेल्नुपर्छ । मुख्य कुरा त प्रतिनिधि सभाबाटै आउने हो बिलहरू, सरकारले ल्याउने हो । त्यसलाई द्रुत गतिले अगाडी बढाउनुपर्छ भन्ने मलाई लागेको हो । संघीयता कार्यान्वयन गरेन, संविधानको उपलब्धि सकिन लाग्यो भनी जति गुनासो छ, संविधानसँग जोडिएका कानुनहरू नबनेका कारणले र नीतिहरू नबनेका कारणले हो भन्ने मलाई लाग्छ । त्यसमा मेरो बढी ध्यान जान्छ ।’
राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा सदस्यको रुपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।
उनले भने ‘हाम्रो भुमिका विधि, विधान, जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा पार्टी नभनीकन यो गरिमामय सभाले सही कुरालाई समर्थन गर्ने, गलत कुरामा छलफल गरी विचार, विमर्श गरी दुईवटै सदन र सरकारसँग समन्वय गरेर जाने कुरा हाम्रो जिम्मेवारी हो ।’
राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमूलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताए । उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भुमिका खेल्ने बताए ।
उनले भने ‘राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमूलक, गरिमामय बनाउने छु । शान्ति प्रक्रियाका कामहरु धेरै छन् टुङ्ग्याउन । त्यसको निम्ति पनि मैले भुमिका खेल्नेछु । जुन वर्ग र ठाउँबाट म उपस्थित भएँ । त्यसको निम्ति म सदा–सदा निष्पक्ष तरिकाबाट अगाडी बढ्नेछु । र ती आवाजहरू उठाउनेछु ।’
राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताए । उनले तिनै तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भुमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने बताए ।
उनले भने ‘प्रदेश सरकार र स्थानीय तहको समस्याहरू, उहाँहरुले पाउने अधिकारहरू जुन संविधानले उल्लेखित गरेका अधिकार, सङ्घीय कानुनहरू बनेका छैनन् । निजामती कर्मचारी ऐन बनेका छैन । प्रहरीको ऐन बनेको छैन । स्थानीय सरकार राम्रो चल्न सकेको छैन । त्यसलाई व्यवस्थापन मिलाउनुपर्छ । र त्यसतर्फ हामीले काम गर्नुपर्छ । संविधानलाई व्यवस्थित गर्न केही अप्ठ्याराहरु छन् । त्यसलाई व्यवस्थित गर्दै जानुपर्छ ।’
संविधानलाई व्यवस्थित बनाउनुपर्ने पनि अवस्था रहेको भन्दै आफ्नो ध्यान त्यता नि रहने उनको भनाई छ ।








