अर्थमन्त्रीले भने– कांग्रेसले गठबन्धन तोडेको होइन, राजीनामा दिन्नौं

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका छन् ।
नयाँ सत्तासमीकरण र नयाँ मन्त्रीमण्डल बनाउन एमाले र रास्वपाका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेसँगै कांग्रेसको पदाधिकारी बैठक बसेको हो ।
बैठकस्थलबाट केहि मन्त्री बाहिर निक्लिएका छन् । उनीहरुले मन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।
नयाँ मन्त्रीमण्डल बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए बर्खास्त गर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष दिएका छन् ।
पदाधिकारी बैठकमा निस्किएपछि कांग्रेस मन्त्रीहरुको राजीनामा के हुन्छ भन्ने प्रश्नमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ गठबन्धन बन्ने भएपछि स्वभाविक रुपमा राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताए । महतले गठबन्धन प्रधानमन्त्री प्रचण्डले तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताए ।
‘प्रधानमन्त्रीले गठबन्धन तोडेको जानकारी दिनुभयो। कांग्रेसले गठबन्धन तोडेको होइन ।’ उनले भने,‘नयाँ गठबन्धन बन्ने भएपछि राजीनामा दिनुपर्ने आवश्यकता छैन । स्वाभाविकरुपमा हामीले राजीनामा दिनुपर्दैन ।’








