बैंकहरू माथि आक्रमण हुँदा बैंकिङ क्षेत्रको मनोबल कमजोर भयो : अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकह माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले नेपालको बैंकिङ उद्योग दक्षिण एसियाका अन्य देशहरूको भन्दा सबल र बलियो रहेको दाबी गरे ।
पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अप्ठ्यारो बनाएको अध्यक्ष केसीले बताए । उनले बैङ्कहरूले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए । उनले ७ सय १९ अर्ब बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताए ।
उनले बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अप्ठ्यारो स्थिति भएको बताए । उनले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे ।
उनले भने ‘बैङ्कहरूको समग्र सूचकलाई हर्ने हो भने दक्षिण एसियामा अन्य देशको बैकिङ उद्योग भन्दा राम्रो काम गरिरहेका छौं । समय–समयमा बैङ्कहरूलाई विभिन्न आरोप आइरहेको हुन्छ । बैङ्कहरूले धेरै पैसा कमाइरहेको भन्ने आरोप लागि रहेको हुन्छ । आज बैङ्कहरूले भन्दा राम्रो लाभास भाँड्ने धेरै कम्पनीहरू आइरहेका छन् । ७ सय १९ अर्बको लगानी लगाएका छौं । लगानीको १० प्रतिशत मात्रै आम्दानी भइरहेको छ । बैंकहरु पछिल्लो समय पारदर्शी भएको कारण अप्ठ्यारो स्थिति सिर्जना गर्दा आरोपहरू भइरहेको छ । पछिल्लो समय सडकबाट नै ऋण तिर्नुपर्दैन भन्ने कुरा आइरहँदा अप्ठ्यारो अवस्था भएको छ । ५ करोड २५ लाख भन्दा बढी फरक एकाउन्टहरू लिएर निक्षेपकर्ताको रकम जम्मा गर्ने हुँदा उहाँहरूमा समस्या पर्नसक्छ । निक्षेपकर्ताको विश्वासमा बैङ्कहरूले काम गरिरहेका छौं । यस्तो अवस्थामा बैङ्कहरूलाई समय–समयमा आक्रमण हुँदा बैंकिङ क्षेत्रको मनोबल कमजोर हुँदै गएको छ । विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि यस्तो खालको मनोबललाई गिराउने काम भइरहेको छ । बैंकको ऋण लिएपछि तिर्दिन भन्ने खालको अप्सन हुँदैन । ऋण तिरेको पैसाबाट नै निक्षेपकर्तालाई दिइरहेका हुन्छौँ । हरेक दिन बैंकले निक्षेपकर्तालाई ब्याज दिइरहेका हुन्छौँ । ऋणहरूले ब्याज र साँवा तिर्दिन भन्दा बैङ्कहरूलाई निकै अप्ठ्यारो पर्नसक्ने सम्भावना हुन्छ । कोभिडको बेलामा बैङ्कहरूले सबैलाई बचाउने काम गरेको छ ।’
उनले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताए । उनले विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाहा हुन नसक्ने बताए ।








