तीव्र गतिमा आएको स्कुल बसले हान्दा दुई महिलाको मृत्यु

काठमाडौं । जनकपुरधाममा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
दुर्घटनामा परेर स्थानीय ३५ वर्षीया राखी यादव र ५८ वर्षीया देवकली देवी साहको मृत्यु भएको हो ।
दुर्घटनापछि आक्रोशित स्थानीयले चक्काजाम गर्दा प्रहरीले बल प्रयोग गरेर अवस्था नियनत्रणमा लिएको प्रवक्ता अवाले बताए ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन राउण्ड आश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको उनले बताए । जनकपुरधामस्थि एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बस विद्यार्थी ल्याउन जलेश्वरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको थियो ।
स्थानीय राखिदेवी यादवकी नन्दको विवाहका लागि महिलाको समूह मटकोर विधिमा प्रयोग हुने माटो खन्न खेततर्फ जाँदै गर्दा तीव्र गतिमा आएको बसले महिलाको समूहलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








