मौसम समाचार

प्रिमनसुन अवधि सुरु : मौसम बदलीको क्रम आज रातिसम्म बढ्दै जाने, भोलिदेखि सुधार हुने

काठमाडौँ । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुन क्रम अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।

काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =