वर्षौँ पुरानो फाइल झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍यो : सांसद गिरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले देशमा सरकारको मात्रै अस्थिरता नभएर नीतिगत अस्थिरता पनि भएको बताए । उनले देशमा भ्रष्टाचार बढिरहेको बताए । उनले मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भूमिका हुने भएपनि वर्षैंपुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको बताए । उनले सरकारले सहकारी पीडितहरूलाई न्याय दिनुपर्नेमा जोड दिए ।

उनले भने – ‘सहकारी पीडितलाई न्याय दिने काम यही सरकारको होइन र ? कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग गर्न चाहन्छु । नीतिगत अस्थिरता छ । भ्रष्टाचार बढिरहेकोमा कुनै शंका छैन । मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भूमिका हुन्छ । तर वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको छ । सरकार इमान्दार हुन सत्तारुढ हुन वा प्रतिपक्षी हामी सबै इमान्दार हुनुपर्छ । त्यसको सुरुवात यही संसद भित्रबाट गरौँ । संसदलाई सशक्त बनाउने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र समितिलाई प्रभावकारी किन बनाउन सकिरहेका छैनौँ ? अब समिक्षा गर्ने बेला आएको त होइन ?’

उनले कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकारले उपलब्ध गराउने वाचा गरे अनुरूपको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग समेत गरे । उनले संसदलाई सशक्त, सरकारलाई संसदप्रति उत्तरदायी र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकेको भन्दै यसप्रति समिक्षा गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *