वाफ महिला च्याम्पियनसिप

अपराजित नेपाल उपाधिका लागि जोर्डनको सामना गर्दै, साम्बा नखेल्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्ने छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि सुरु हुने भएको हो ।

नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ ।

साम्बा नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने भएकाले उनी फाइनल खेलमा उपलब्ध नहुने जानकारी दिएको छ । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

नेपाली टिम :
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर: गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डर: अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड: चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *