वाफ महिला च्याम्पियनसिप

शत प्रतिशत जितसहित नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालका लागि प्रिती राईले खेलको ९५औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन् । यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औ मिनेटमा बराबरी गोल गरेकी थिइन् । सावित्राको यस प्रतियोगितामा यो नवौँ गोल हो ।

लेबनानका लागि नेपालकी पूजा रानाले खेलको ३७औँ मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले सुरुवाती अग्रता लिएको थियो ।

यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।

फाइनल खेल बिहीबार हुने छ । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *