दूधको मूल्य घट्दै गएपछि रामेछापका किसान चिन्तित

रामेछाप । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरूले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।

यसअघि प्रतिलिटर ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर ५४ मा झरेकाले किसान चिन्तित बनेका हुन् । जिल्लामा हिजोआज सदरमुकाम पेरीफेरीमा मात्र करिब तीन हजार आठ सयदेखि चार हजार लिटरसम्म दूध उत्पादन हुन्छ । यसअघि जिल्लामा रहेको चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीले जिल्लामा उत्पादन भएका सबै दूध किसानसँग खरिद गर्ने गरेका थिए तर ती डेरीमा पनि दूध र दुग्धजन्य वस्तुको बिक्री वितरणमा कमी आएका कारण जिल्लामा उत्पादित सबै दूध लिन नसकेको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठले बताइन् ।

उनीले भनिन्, ‘जिल्लाको मागभन्दा बढी दूध उत्पादन भएका कारण हामीले सबै किसानको दूध बिहान र साँझ दुवै समय लिन नसकेका हौँ तर एकपटकको मात्र हामी लिन्छौँ बेलुकाको दूध दुग्ध सहकारीमार्फत सहकारीमै सङ्कलन गरी बाहिर पठाउने गरिएको छ दूध नबिक्नुभन्दा कम मूल्यमा भए पनि बिक्री हुनु राम्रो कुरा हो ।’

जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगारी छाडेर आएका युवाले यो व्यवसाय गरिरहेका छन् । घाँस र दानको मूल्य बढ्दै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थली नपा–१ मा गाई फार्म सञ्चालिका जानुका खड्काले बताइन् ।

उनीले भनिन्, ‘विदेशमा गएका श्रीमान्लाई स्वदेशमै केही गरौँला भनेर फर्काएँ र फेरि जान दिइनँ तर अहिले दूधको मूल्य नै नआउने र कहिलेकाहीँ नबिक्ने पनि गरेपछि यो पेसाप्रति नै वितृष्णा बढेको छ ।’

यसअघि जिल्लामा रहेका तीनवटै डेरीले पर्याप्त दूध लिने गरे पनि फागुन महिनादेखि आफूले उत्पादन गरेको दूध नबिक्ने वा बिकी हाले पनि कम मूल्यमा बिक्री हुने भएका कारण अब पेसा नै फेर्नुपर्ने बाध्ययता हुन लागेको अर्का किसान सुरेश भण्डारीले बताए । सबैतिरको अवस्था यस्तै भएका कारण अब आफूहरूले गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न पनि मुस्किल हुने देखिएको मन्थली नपा–६ का किसान बुद्धिप्रसाद ढुङगेलले बताए।

जिल्लामा रहेका डेरीहरूले दूध नकिनिदिएपछि दूध नबिकेर फाल्नुभन्दा आफूले सस्तो मूल्यमा किनबेच गर्न लागेको रामेछाप दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापाको भनाइ थियो । उनले भने, ‘यसअघि फागुन १ गतेदेखि लिने गरी हामीले डिडीसीसँग मौखिक सहमति गरेका थियौँ, चार दिनपछि उसले पनि लान छाड्यो त्यसपछि हामीले हिमालयन दुग्ध उद्योग एवं रिसर्च सेन्टरसँग प्रतिलिटर ५६ मा लिनेगरी सहमति गरेका छौँ अब किसानको दूध नबिक्ला भन्ने शङ्का नै भएन ।

जिल्लामा एक सयको हाराहारीमा गाईपालन फार्म छन् जसमध्ये ५० वटा गाई फार्महरू मन्थली नगरपालिकामा मात्र छन् भने अन्य फार्महरू लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँ पालिका, सैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा रहेका छन् ।

लिखु तामाकोशी गाउँपालिका मन्थली पछिको बढी दूध उत्पादन हुने पालिका हो तर यहाको दूध दोलखाको सदरमुकाम चरिकोट पठाइने हुनाले यहाँका किसानका लागि दूधको मूल्यमा खासै तलमाथि भएको छैन तर मन्थली नगरपालिकामा रहेका किसानले उत्पादन गरेको दूध मन्थली बजार र सिन्धुलीको खुर्कोट बजारमा खपत हुने गरे पनि दूधको उत्पादन बढी र माग कम हुनाका साथै दूध र दूधजन्य परिकारहरू बिक्री नभएका कारण दूधको मूल्य घटेको बताइएको छ ।

धेरै दुःख र मेहनत गरेर उत्पादन गरेको दूधको बजारीकरणमा समस्या भएपछि अब किसानले गाईवस्तु पालन गर्न नसक्ने भएका छन् । सरकारले व्यावसायिकरूपले गाई पाल्ने किसनलाई दूध, दाना र घाँस ढुवानीमा अनुदान दिनुपर्ने व्यवसायीहरूको माग थियो । मन्थली नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर दुई अनुदान दिए पनि घाँस र दाना ढुवानीमा अनुदान दिनेतर्फ कुनै चासो देखाएको छैन ।

दूधमा दिइएको अनुदान अझै बढाउनुपर्ने र नगरपालिकाले घाँस र दाना ल्याउँदा पनि अनुदान दिनुपर्ने किसानको माग थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =