अग्रज नेताहरूले मिलेर मुलुकमा गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरूलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन् ।

अग्रज नेताहरूले मिलेर मुलुकमा सुशासन कायम र गरिबिको अन्त्य तत्काल नगरे इतिहासले उनीहरूलाई माफी नदिने उनको निष्कर्ष थियो । शनिवार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले मुलुकमा सुशासन र गरिबिको पक्षमा काम गर्न आफूहरूले अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री किराँतीले नेपाली माटो अनुकूलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहोर्याए ।

उनले भने ‘समाजवाद भनेको नै श्रमको सम्मान गर्ने व्यवस्था हो । तर नेपाली समाज भित्रै रहेको समाजवादको चाहिँ विकास नगर्ने । अनि, सोभियत संघमा कस्तो थियो, चीनमा कस्तो थियो, उनी कहाँ कस्तो थियो ? भन्दै खोज्दै जाँदाखेरि बिना खोज्दै उफ्रिएको कस्तुरीजस्तो नेपाली सापेक्षताको सिद्धान्त हामीले नेपाली माटोमाथि विकास गर्न नसकेको गहिरो अनुभूति हुन्छ । हामी त माटो र जरातिर फर्किएकै छैनौँ । हामी त सुगन्ध र फूलतिर । त्यो पनि गुलाबको फूल भए हुन्थ्यो नि, पलाष्टिकको फूल । यतातिर हामी लाग्यौँ । पद र प्रतिष्ठातिर लाग्यौँ, जरातिर लागेनौँ । हामीले लागेको रोग के हो र यसको सही उपचार के हुन सक्छ ? भन्ने कुरातिर ध्यान दिन सकेनौँ । जो चाहिँ आफ्नै माटोमाथि उभिन्छ विचार । उभिन्छ सिद्धान्त र व्यवहार । त्यो चाहिँ अटल हुन्छ क्या । यत्रो ठूलो व्यवस्था त हामीले लडेर ल्यायौँ । निरंकुशता ढाल्नको निम्ति त पुष्पलालले भनेझैँ नमिली त ढलेन नि । तर व्यवस्थापनको सिद्धान्त नेपाली सापेक्षतामा के हुनसक्छ ? कहिले पनि यो भएन । हुन सकेको छैन । त्यसकारण म एकचोटी यो विमोचन कार्यक्रममा गम्भीर एउटा आग्रह गर्न चाहन्छु–अग्रज नेताहरू, तपाईँहरूले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईँहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस् । गरिबिको अन्त्य गरिदिनुस् । तपाईँहरूलाई कति हामीले बोक्नुपर्ने, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं । तर अब पनि ढिलो भयो भने चाहिँ समयले हामी कसैलाई पर्खने छैन । र माफी इतिहासले दिनेछैन ।’

मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *