योगेश भट्टराईको आरोप– उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष भएन

काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गरे ।

उनले अनुसन्धान, प्रश्तुतीमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए ।

उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उनले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए । उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भत्र्सनासमेत गरे । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे ।

उनले भने, ‘गत कार्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो । यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिस्पर्धी र पारदर्शी केही पनि थिएन । अनुसन्धान, प्रश्तुतीमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिने भन्दा शिक्षामन्त्री र शिक्षा सचिवले । अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वाता कसले लिन्छ भन्दा उपप्राध्यापकले । यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ । यसको निन्दा गर्दछु । भत्र्सना गर्दछु र यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस् । यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ । यतातिर पनि ध्यान जाओस् ।’

उनले पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिवीको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *