पञ्चकोट पुगे राष्ट्रपति पौडेल, उद्घाटन गर्नेछन् साढे ५ हजार किलोको महाघण्ट

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । बुधबारदेखि आयोजित ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ। महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो। गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *