गठबन्धनको विषय अहिले नै किन ?

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न प्रतिवेदनमा छलफल भएको छ ।

बुधबार उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखापरीक्षण प्रतिवेदनमा छलफल भएको छ ।

यी प्रतिवेदनमा २२ सय महासमिति सदस्यलाई चारवटा समूहमा बाँडेर छलफल गरिएको हो । प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरूलाई गोदावरी हलमा राखिएको थियो । कर्णाली र मधेस प्रदेशका लागि विशंखुनारायण हल, बाग्मती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिलाई कोञ्ज्योसोम हलमा राखिएको थियो ।

छलफलमा गोदावरी हलबाट १ सय १०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोञ्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । विशेषगरी महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावमा बाग्मती र गण्डकी प्रदेशका महासमिति सदस्यले गठबन्धनको विषय अहिले उठाउनु गलत भएको धारणा राखेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा कोशी प्रदेश सरकार गठबन्धनको निर्णयविपरीत गठन भएको उल्लेख गरेका छन् । गठबन्धनको निर्णयविपरीत कांग्रेस सरकार बनेको धारणा उनले राखेपछि महासमिति बैठकको बन्दसत्रमा सदस्यहरूले त्यसको विरोध गरेका छन् ।

महामन्त्री शर्माले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा लेखेका थिए, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं, केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।’

उनको प्रतिवेदनमा टिप्पणी गर्दै कोशी प्रदेशका महासमिति सदस्यले कांग्रेसको सरकार बन्दा टाउको दुखाइ भएको हो भन्दै प्रतिवाद गरेका थिए । कोशी प्रदेश सभापति उमेश थापाले कांग्रेस सिध्याउने बाटोमा विश्वप्रकाश शर्मा लागेका हुन् भन्ने प्रश्न राखेका थिए ।

त्यस्तै, बैठकमा मधेस प्रदेशको छलफलमा सहभागी राजेश्वरप्रसाद सिंहले प्रस्तुत गरिएका प्रतिवेदनमा मधेसको मुटु छाम्न नसकेको बताए । ‘प्रतिवेदन तयार पार्ने नेताहरूले मुटु छाम्न सकेका छैनन्,’ उनले भने । प्रस्तुत गरिएका प्रतिवेदनहरू मिटर ब्याज, उखु किसानका समस्या, खानेपानीसहितका सामाजिक समस्यामा मौन रहेको उनको भनाइ छ । उनले प्रतिवेदनमा ‘मधेश’ हुनुपर्ने तर ‘मधेस’ लेखिएको भन्दै आपत्ति जनाए । ‘मधेशमा मोटो ‘श’ लेख्छौं,’ उनले भने ।

त्यस्तै, बैठकमा कोशीको पहिचानको मुद्दाको विषय जारी रहेको भन्दै सो प्रदेशका जिल्ला सभापतिहरूले आफ्नो मागलाई पार्टीको आधिकारिक धारणा बनाउन माग राखेका छन् । धनकुटा जिल्ला सभापति दिनेश राईले कोशीको विषय पेचिलो भएको भन्दै कानमा तेल हालेर बसेकामा कांग्रेस नेतृत्वप्रति आक्रोश पोखे ।

साथै हिन्दू धर्मको विषयमा समेत महासमिति बैठकमा छलफल भएको थियो । बन्दसत्रमा बोेल्ने अधिकांश महासमिति सदस्यहरू ‘हिन्दू राष्ट्र’ सम्बन्धमा भने विभाजित भएका छन् । विशेष गरेर आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले ‘हिन्दू राज्यको कुरा गरेर मुलुक टुक्र्याउन खोजेको हो’ भन्दै आपत्ति जनाए ।

संविधान र परिवर्तन उल्ट्याउने कुचेष्टामा सांसदसमेत रहेका केन्द्रीय सदस्य नै लाग्नु दुःखद भएको भन्दै उनीहरूले आलोचना गरेका थिए । कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले १६ बुँदामा साझा धारणा राखेका छन् । जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको हकमा स्वतः महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक निर्वाचनमा जुनसुकै तहमा भाग लिँदा क्रियाशील सदस्यता लिइएको समय, सीमा निर्धारण गरेको विधानको धारा निलम्बन गरिएमा सो धारा कार्यान्वयन गर्नुपर्ने साथै अब उप्रान्त निलम्बन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उल्लेख छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *