राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने दाउमा ओली

काठमाडौं । नेपाली राजनीति लामो समयदेखि अस्थिर छ । नेपाली राजनीति र राजनीतिज्ञ हिँड्ने बक्र रेखा कतिखेर कता जान्छ ? कोसँग मिल्छ ? सजिलै भेउ पाउन सकिँदैन । कसले कुन गोटी चाल्छ र नतिजा कसको पोल्टामा जान्छ, अनुमान गर्न नसकिने अवस्था छ । सत्ता प्राप्ति गर्न हुने संसदीय खेल त झन् ‘टोलकप’ (गाउँघरमा केटाकेटीले खेल्ने (क्रिकेट/फुटबल)भन्दा बेलगाम हुन्छ । यसका लागि गत वर्षको पुस १० को परिणाम मात्र हेरे पुग्छ । त्यसपछि नेपाली राजनीतिमा विकसित भएका घटनाक्रम र बने/टुटेका गठबन्धनले अस्थिर नेपाली राजनीतिको चित्र प्रष्ट्याउँछ । गत वर्षको पुस १० नै नेपाली राजनीतिको पहिलो वा अन्तिम घटनाक्रम होइन । विगत, वर्तमान र भविष्यमा थुप्रै पुस १० घटित हुनेमा दुई मत छैन ।

गत राष्ट्रियसभा निर्वाचनपछि नेपाली राजनीति फेरि बक्र रेखामा हिँडिरहेको छ । फागुन २९ गते हुने राष्ट्रियसभा निर्वाचनअघि वा पछि यसको परिणाम देखिनसक्ने राजनीतिक विश्लेषण भइरहेको छ । वर्तमान सत्ता गठबन्धन कायम रहने वा नरहने, अथवा नयाँ बन्ने अहिले चर्चा र चासोको विषय हो । यसै सन्दर्भमा नेताहरूका आन्तरिक र बाहृय दौडधुपहरू भइरहेका छन् । विगत एक वर्षमा नजिक हुँदै टाढिएका एमाले-माओवादी फेरि नजिकिने दाउ खोजिरहेका छन् । दुई दलका अध्यक्षको बाक्लो भेटघाट, हाउभाउ र बोलीचालीले पनि यसको संकेत गर्छ ।

भजन शिरोमणि भक्तराज आचार्यको अन्त्येष्टिमा सँगै देखिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार फेरि एउटै मञ्चमा देखिनुभयो । सन्दर्भ थियो ‘भरतपुर भ्रमण वर्ष’को । भरतपुर महानगरले शुभारम्भ गरेको भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा उहाँहरू एउटै मञ्चमा देखिनुभयो । उहाँहरूको बोलीले पनि निकटता बढेको संकेत गरेको छ ।

उसो त मञ्चमा ओली र दाहाल मात्रै होइन, नेपालका पाँचजना पूर्व-प्रधानमन्त्रीहरू पनि हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि सँगै मञ्चमा हुनुहुन्थ्यो । अध्यक्ष ओलीले मञ्च चढ्नेबित्तिकै प्रचण्डसँग सुरुमै हात मिलाउनुभयो । तर, सँगै रहनुभएका पूर्व–प्रधानमन्त्रीहरू देउवा र नेपालसँग भने ओलीले हात मिलाउनुभएन । बरु मञ्चको अर्को छेउमा रहनुभएका खनालसँग हात लम्काएर मिलाउनुभयो । चितवनमा देखिएको यो दृश्यले पनि अहिले राजनीतिमा चलेको चर्चालाई थप मलजल गर्ने त होइन ? भन्ने बहस सुरु भएको छ ।

चितवनबाट राष्ट्रिय एकताको सन्देश दिएका छौँ : प्रचण्ड
प्रधानमन्त्री ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गर्नुभएको छ । ‘भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार र नीति क्षेत्रको नयाँ संकल्पको पनि उद्घाटन समारोह पनि भएको बताउनुभयो । भरतपुर भ्रमण वर्षले देशका सबै प्रमुख राजनीतिक दल र नेताहरूको राष्ट्रिय एकताको सन्देश दिएको उहाँले बताउनुभयो । ‘आज जुन सार तत्वका साथ उद्घाटन भएको छ, यो सामान्य भरतपुर भ्रमण वर्षको मात्रै उद्घाटन भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरूको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह भयो,’ उहाँले भन्नुभयो, ‘समृद्धिको नयाँ यात्रामा हामी सबै एकै ठाउँमा छौँ भन्ने सन्देश पनि गयो । यहाँ प्रतिनिधित्व र उपस्थितिलाई हेर्दा भरतपुर र चितवन मात्रै होइन सिंगो राष्ट्रको समुद्घाटन समारोह जस्तो भयो ।’ चितवनको जनप्रतिनिधिको रूपमा आफूले धेरै काम गरेको उहाँले दाबी गर्नुभयो । ‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवद्र्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

देउवाको दाबी- गठबन्धन टुट्दैन
कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन पुग्नुभएका देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीका टिप्पणी गर्नुलाई सामान्य रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । गठबन्धनमा कुनै समस्या नभएको उहाँले दोहोर्‍याउनुभयो । पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष को हुने ? भन्ने विषयले चर्चा पाइरहेको भन्दै यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुंगोे लगाइने स्पष्ट पार्नुभयो । ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगो लाग्छ,’ उहाँले भन्नुभयो ।

हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले बनाएका योजना र नीतिमा त्रुटि भए सच्याउन जरुरी रहेको उहाँले बताउनुभयो । जनताको आलोचनालाई कदर गरेर अघि बढ्न उहाँले सुझाव दिनुभयो । ‘हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ । परिणाम कसरी पाउन सकिन्छ, हाम्रा नीति, योजना, काममा कहाँ त्रुटि छन्, त्यसको समीक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘जनताका आलोचनालाई कदर गर्नुपर्छ ।’

हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेपालकी छोरी भएको बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेनु प्रधानमन्त्री प्रचण्डको मात्रै छोरी नभएको बताउनुभयो । ‘तपाईं साँच्ची नै कमरेड पुष्पकमल दाहाल प्रचण्डकी छोरी मात्रै होइन । नेपालको छोरी हो,’ उहाँले भन्नुभयो, ‘तपाईंले जुन ढंगले प्रयत्न गर्दै हुनुहुन्छ । राम्रो प्रयत्न हो । तपाईंको नेतृत्वमा भरतपुरमा निरन्तर विकास हुन सकोस् ।’ खनालले प्राकृतिक साधन स्रोतले सम्पन्न देश भए पनि गरिब नागरिक बनाइएको बताउनुभयो । ‘हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ । छाती छामेर हेरौँ । सुधार गरौँ । कोर्स चेन्ज गरौँ । देश समृद्धितिर लान सकिन्छ,’ उहाँले भन्नुभयो ।

नेतृत्वले जनताको शक्ति चिने मात्रै देशले मुहार फेर्छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको शक्ति चिने मात्रै देशले मुहार फेर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा बोल्दै उहाँले जनताको शक्ति चिने मात्रै देशले मुहार फेर्ने बताउनुभएको हो । नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने उहाँको भनाइ थियो । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्व-प्रधानमन्त्रीहरू सबै हुनुहुन्छ,’ मञ्चतर्फ देखाउँदै उहाँले भन्नुभयो, ‘तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यति मात्र भन्न चाहन्छु ।’

राजनीतिक परिस्थितिअनुसार सरकारमा को हुन्छ/हुँदैन भन्न सकिँदैन : ओली
एमाले अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । चितवन जानुअघि काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको टिप्पणी गर्नुभयो । संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको ओलीको भनाइ थियो । उहाँले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गर्नुभएको हो । ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘यहाँ त संसद्मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ ।’

यस्तै, अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालतिर लक्षित गर्दै आफू र आफ्नो पार्टी सहयोगका लागि तत्पर रहेको बताउनुभयो । भरतपुर महानगरले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले भ्रमण वर्ष कार्यक्रमका उद्देश्य भव्य ढंगले सफल हुन सकून् भन्ने शुभकामना पनि दिनुभयो । महानगर प्रमुख दाहाल प्रधानमन्त्री प्रचण्डकी पुत्रीसमेत हुनुहुन्छ । ओलीले आगामी एक वर्षभित्र आफू सपरिवार चितवन भ्रमणमा आउने प्रतिबद्धता पनि जनाउनुभयो ।

नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन
भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित चार पूर्वप्रधानमन्त्री सहभागी हुनुहुन्थ्यो । भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नको लागि भ्रमण वर्ष घोषणा गरिएको हो । यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, बु्रसर, स्टिकर, बुकलेट, भिडियो सामग्री तयार पारेको जनाएको छ । भरतपुर भ्रमण वर्षले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने अपेक्षा महानगरको छ । भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले, भरतपुरवासीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुग्ने महानगरको विश्वास छ । भरतपुरमा जिप सफारी, जंगल सफारी, डुंगा सफारी, प्याराग्लाइडिङ, मौलाकालिका केबलकार जस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ : मेयर रेनु
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री प्रचण्डले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुईटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको जिकिर गर्नुभयो । ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवं हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिन चाहन्छु । भरतपुरलाई उत्कृष्ट महानगरको रूपमा चिनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई घुमाउन सक्ने योजना र पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्नेहरूप्रति आभार व्यक्त गर्दछौँ,’ उहाँले भन्नुभयो, ‘महानगरलाई आजको यो स्वर्णिम अवसरसम्म आइपुग्न सहयोग र चितवनको दिगो र आत्मनिर्भर विकासमा प्रधानमन्त्री प्रचण्डज्यूले गर्नुभएको लामो समयदेखि अभिभावकीय भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।’ आर्थिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *