छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि समापन हुँदै कांग्रेस महासमिति

काठमाडौँ । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक समापन हुँदैछ ।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमा समूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरे ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *