कांग्रेस महासमिति बैठकः प्रतिनिधिले धारणा राख्ने क्रम जारी

यही फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यले धारणा राख्ने क्रम जारी छ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी बैठकको तेस्रो दिन आज उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहनुभएका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चारवटा हलमा समूहगतरुपमा छलफल भइरहेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

“प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरुलाई गोदावरी हल, कर्णाली र मधेस प्रदेशका लागि विशङ्खुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हलमा विभाजन गरेर धारणा राख्ने क्रम जारी छ”, उनले भने।

विश्वकर्माका अनुसार आज बाँकी भएका सदस्यहरुले भोलि पनि धारणा राख्नुहुनेछ । “चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरुको सुझावलाई टिपोट गरिरहनुभएको छ”, उनले भने।

विभिन्न हलमा भएका बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको भन्दै प्रमुख विश्वकर्माले छलफलमा देशभरबाट आउनुभएका महासमिति सदस्यहरुले प्रतिवेदनमा विचार राख्नुभएको बताए। महासमितिमा पेस भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरुले सुधारका केही सुझावसमेत पेस गरेको उनले जानकारी दिए।

छलफलमा गोदावरी हलमा एक सय १०, विशङ्खुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको प्रचारप्रसार विभाग प्रमुख विश्वकर्माले जानकारी गराए।

महासमिति बैठकमा सहभागी सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको उनले बताए।

महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसर बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान हुनुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए।

सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न अधिकांश महासमिति सदस्यले सुझाव दिएको विश्वकर्माले बताए।

“समूहगत छलफलमा उठेका कुरा सातवटै प्रदेशका सभापतिले सबै प्रतिनिधिसमक्ष पेस गर्ने कार्यक्रम छ । त्यसपश्चात् ती सबै प्रस्तावहरुमा संयुक्तरुपमा छलफल गरी हलले पारित गर्नेछ”, कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने। बिहीबार दिउँसो २ः३० बजेदेखि समापन समारोह गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *