प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाउँदै लिङदेनले भने– उपेक्षा गरे बिद्रोह गर्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।

बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेको बताए । उनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए ।

‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र दिएका छौँ र औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेका छौँ । त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ’ उनले भने ‘देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नविन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ ।’

उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।

उनले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए । उनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए ।

उनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

‘सबैको स्थान होस्, सबैको सहभागिता होस् । देशले नयाँ बाटो लिओस् । अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ’उनले थपे ‘धर्मान्तरणलाई निषेध गर्नुपर्छ । अहिले जनप्रतिनिधिहरुको संख्या यति ठूलो रुपमा छ की देशको अर्थतन्त्रले त्यसलाई धान्नै सक्दैन ।’

उनले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताए ।

उनले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताए । उनले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

‘जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौति हुनुपर्छ । त्यसमा सबैभन्दा पहिला प्रदेश तह खारेज हुनुपर्छ । केन्द्र र बलियो स्थानीय तह बन्नुपर्छ’ उनले भने ‘बैंक तथा वित्तीय संस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका छाँै । बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभएको छ ।’

अध्यक्ष लिङदेनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरेको बताए ।

‘ललितानिवास जग्गा प्रकरण, सुन काण्डको कुरा होस्, नक्कली भूटानी शरणार्थी प्रकरणको कुरा होस्, बाइडबडी लगायतका काण्डहरुको पुनः र पूर्ण छानबिनको कुरा उठाएका छाँै’ उनले भने ‘हामीले यो आन्दोलनलाई सशक्त रुपमा लैजान्छौँ र सरकारले यसलाई मागको रुपमा मात्रै लियो भने र राप्रपका माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै बिद्रोहसम्म जानसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *