मध्यपहाडी राजमार्गले फेरियो साँखगाउँको मुहार

त्रिवेणी । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ ।

माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ । मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ ।

विकासक्रमसँगै पछिल्लो समयमा गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरू निर्माण पनि भइरहेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरू र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ ।

यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ । मेलामा पालोअनुसार नाट्य रूपमा एक साल माथि गाउँबाट र अर्को साल तलिगाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ । अनि पापिनी मेला सम्पन्न हुन्छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्‍याएको छ ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरू साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन् । साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन् । यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ । यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रूपमा पनि सहज बनाएको छ ।

केही दशकदेखि पहिले दुर्गमको महसुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ ।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ पुग्न सकिने स्थानीय विकास पाण्डेले बताए ।

राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौँ जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुङ–पोखरा हुँदै काठमाडौँ एक दिनमा पुग्ने गरेको उनले सुनाए ।

मध्यपहाडी सञ्चानलन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौँ जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन् ।

सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छ भने विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन् भने परम्परागत शैलीबाट निर्माण गरिएको घरहरू बिस्तारै लोप हुने अवस्था छन् ।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थानीय ८० वर्षीय पूर्णबहादुर बुढा अचम्म पुरेका छन् । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ । ‘वि।स २०६२/६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो । अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ । यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,’ बुढाले भने । पहिले दाङ नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उनले सुनाए ।

‘पहिले मीठो खान दसैँतिहार पर्खिनुपर्थ्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपर्थ्यो,’ स्थानीय ६५ वर्षीय मनकला थापाले भनिन् । पछिल्लो समयको विकास देखेर भने उनी पनि खुसी छिन् । आफ्नो पालामा भोग्नुपरेका समस्याका बारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिवर्तन ल्याएको थापा बताउँछिन् ।

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ । प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुप¥यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ । गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन ।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारको हिसाबले साँखगाउँ अगाडि बढेको छ । विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहुँचमा रहको छ । गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उनीको भनाइ थियो ।

साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताउछन् । बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पुर्‍याएको छ ।

यहाँका स्थानीयहरू गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिवर्तन गर्न ठूलो भूमिका खेलेको छ । राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए ।

साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उनले बताए । ‘साँखगाउँलाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ । यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रूपमा समृद्ध बनाउने हाम्रो योजना छ’, उनले भने ।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ । ‘पर्यटन प्रवद्र्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौँ र यहाँका स्थानीयलाई आर्थिक रूपान्तरमा जोडछौँ,’ वडाध्यक्ष पाण्डेले भने । दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ । गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *