सुन आयातमा ठूलो गिरावट, ५९ प्रतिशतले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।

विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो ।

छ महिनाको अवधिमा ११ अर्ब ८८ करोड रुपियाँ बराबरको एक हजार ३०१ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । सुन आयात घट्दा यसबाट सङ्कलन हुने राजस्वमा समेत कमी आएको छ ।

सुन आयातबाट छ महिनामा एक अर्ब ६२ करोड ७९ लाख रुपियाँ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्क छ । खुला बजारका कारण चोरी तस्करीबाट आउने सुनसमेत बजारमा जाने गर्दछ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० किलोका दरले सुन आयात गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *