मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे ।

नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाए र मधेस सरकार प्रतिपक्षीविहीन बन्यो । सरकार टिकाइराख्न मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवलाई ५४ जना सदस्यको समर्थन आवश्यक थियो ।

जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको अहिले प्रदेशसमा संयुक्त सरकार छ । मधेसमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

मधेसको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् । प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *