करोडौँका सवारीसाधन पत्रु !

हेटौँडा । सबै जसो प्रहरी कार्यालयमा वर्षौंदेखि सवारीसाधन असरल्ल देखिन्छन् । न सवारीधनीले दाबी नै गर्न आउँछन् न त प्रहरीले उचित व्यवस्थापन नै गर्न सकेको छ । प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा दशकौँदेखि बेवारिसे बनेका सवारीसाधनले प्रहरी कार्यालयको सौन्दर्यमा मात्र होइन अनावश्यक रूपमा जग्गा ओगट्दा कार्यसम्पादनमा समेत समस्या ल्याउने गरेको देखिन्छ ।

विभिन्न समयमा फेला परेका र विभिन्न कारणले कारबाहीका क्रममा नियन्त्रणमा लिएका सवारीसाधनको व्यवस्थापन प्रहरी कार्यालयका लागि पछिल्लो समय चुनौती मात्र होइन टाउको दुःखाईको विषय बन्दै आएको छ । प्रहरी कार्यालय परिसरमा धुलोमैलो र कतिपय टुटफुटसमेत भएका सवारीसाधनको व्यवस्थापनसँगै चुहावटको समेत चुनौती बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले पत्रुसरह लिलामी गर्ने तयारी गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा अन्तर्गतका जिल्ला प्रहरी कार्यालयदेखि मातहतका प्रहरी कार्यालयमा करोडौँ मूल्यबराबरका सवारीसाधनको लिलामी प्रव्रिmया अगाडि बढाइएको छ । बागमती प्रदेशको जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा विभिन्न मितिमा फेला परेका र नियन्त्रणमा लिइएका स्वामित्व नखुलेर बेवारिसे अवस्थामा रहेका सवारीसाधन हालसम्म कुनै पनि व्यक्तिले दाबी गर्न नआएकाले लिलामी प्रक्रीया अगाडि बढाएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब उपरीक्षक भीम बोगटी लामो समयदेखि प्रहरी कार्यालय परिसरमा धेरै सवारीसाधन थन्किएर बसेका र सवारीधनी स्वामित्व ग्रहण गर्न नआएकाले समस्या बन्दै गएपछि लिलामी प्रक्रिया अगाडि बढाइएको बताउनुहुन्छ । उहाँले स्वामित्व ग्रहण गर्न नआएको अवस्थामा पत्रुमा परिणत गरी लिलामी गर्ने गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

विभिन्न मितिमा फेला परेका बेवारिसे सवारीसाधन हालसम्म कुनै पनि व्यक्तिको स्वामित्व नखुली बेचालु अवस्थामा रहेको भन्दै प्रहरी कार्यालयले सवारीसाधन सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि, २०७९ अनुसार १५ दिन सूचना प्रकाशित गर्दै लिलामीका लागि प्रक्रिया अगाडि बढाएका हुन् ।

सूचनामा कुनै व्यक्तिको सम्पत्ति वा सवारीसाधन भएमा सवारीधनीले सक्कलै आवश्यक कागजात लिई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

झन्डै सोह्र सय बेवारिसे सवारीसाधन
प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकमा १० जिल्लाका प्रहरी कार्यालयमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी एक हजार ५९७ वटा सवारीसाधन स्वामित्व नखुलेको र बेवारिसे अवस्थामा रहेको भन्दै तथ्याङ्कसहित पत्राचार गरेको छ ।

तीमध्ये स्वामित्व नखुलेका चारपाङ्ग्रे १० र दुईपाङ्ग्रे एक हजार ५८७ वटा सवारीसाधन प्रहरी कार्यालय परिसरमा छन् । प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब उपरीक्षक बोगटीले १० वटा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा स्वामित्व नखुलेका १० वटा चारपाङ्ग्रे र एक हजार १७६ वटा दुईपाङ्ग्रे सवारीसाधनका धनीलाई आवश्यक कागजातसहित दाबी गर्न सार्वजनिक रूपमा आग्रह गरिएको बताउनुभयो ।

कार्यविधिमा स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न कार्यालयले आफ्नो कम्पाउन्ड हाताभित्र रहेका वा आफ्नो कार्यालयमा प्रयोग भई तत्काल चालु अवस्थामा नरहेका एवं स्वामित्वसम्बन्धी कुनै कागजपत्र नभेटिएका पुराना सवारीसाधन वा नम्बर प्लेट पत्ता नलागेको अवस्थाका सवारीसाधनको चेसिस नम्बर वा इन्जिन नम्बर खुलाई स्वामित्व दाबी गर्न पन्ध्रदिने सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

साथै सूचना अनुसार सवारीसाधनको कुनै दाबी नपरेमा कार्यालयले उक्त सवारीसाधन र सम्पत्ति तथा जिन्सी खातामा आम्दानी बाँध्नुपर्ने र आम्दानी बाँधिएका सवारीसाधन कार्यविधिबमोजिम पत्रुका रूपमा लिलाम बिक्री गर्नुपर्ने उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालय अनुसार स्वामित्व नखुलेका सवारीसाधन सबैभन्दा बढी चितवनमा ४७७ वटा दुईपाङ्ग्रे र १० वटा चारपाङ्ग्रे गरी ४८७ वटा छन् । सबैभन्दा कम रामेछापमा १४ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् । यस्तै मकवानपुरमा १५४, सिन्धुलीमा ६९, दोलखामा ४३, धादिङमा १९५, सिन्धुपाल्चोकमा १०३, काभ्रेपलाञ्चोकमा ५०, रसुवामा १६ र नुवाकोटमा ६५ वटा दुईपाङ्ग्रे सवारीसाधन स्वामित्व नखुलेर बेवारिसे अवस्थामा प्रहरी कार्यालय परिसरमा थन्किएका छन् । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *