कतारले लगातार दोस्रो पटक जित्यो एसियन कपको उपाधि

काठमाडौं । एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गाेल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए । खेलको ६७ औं मिनेटमा याजान अल-नैमतले जोर्डनका लागि एक गोल फर्काए । त्यसको ५ मिनेट पछि कतारले पुनः पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमार्फत अफिफले दोस्रो गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा अफिफले पुनः पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई दोस्रो पटक एसियन कपको उपाधि दिलाए । यसअघि सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो ।

कतारले सेमिफाइनलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । उपाधिसँगै कतारले ५ मिलियन डलर नगद पुरस्कार रकम पाएको छ, भने उपविजेता बनेको जोर्डनले ३ मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक/एक मिलियन डलर पाएका छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *